सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्याबाट मुक्त

बेझाड । रामपुर नगरपालिका–१० का महिलाहरुले  यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण गर्ने उद्देश्यले डेरी सञ्चालन गरेका छन ।

डेरी सञ्चालन गरी घरबाटै दूध सङ्कलन गरी बजारमा बिक्री गरिदै आएको छ । यहाँ सङ्कलित दूध स्याङ्जाको गल्याङ बजारमा खपत हुँदै आएको छ । सहकारीमा आबद्ध शेयर सदस्यले उत्पादन गरेको दूधलाई सहज रुपमा बजारसम्म लैजान डेरी सञ्चालन गरेको अध्यक्ष सीता देवकोटाले बताईन् । दूध नबिक्ने समस्याले महिलालाई पिरोल्न थालेपछि दूध व्यवस्थापन र आर्थिक अवस्था उकास्न डेरी शुरु गरेको उनको भनाइ थियो ।

“सहकारीमा आबद्ध सदस्यको घरबाट दूध सङ्कलन गरेका छौँ, सहकारीबाहेकका कृषकले उत्पादन गरेका दूध खरीद गरेर बिक्री गर्ने योजना छ”, उनले भनिन्न ।

स्थानीय बजारमा दूध कम खपत हुँदा बिक्री गर्न कृषकले समस्या भोग्दै आएका थिए । अहिले सहकारीले डेरी सञ्चालन गरी दूध खरीद–बिक्री गर्न थालेपछि सजिलो भएको लक्ष्मी ओस्ती बताईन् ।

“पहिला दूध बिकाउनै समस्या थियो बजार नजीक थिएन, सहकारीले डेरी चलाएपछि दूध नबिक्ने समस्या हटेको छ”, उनले भनिन्न । उनको घरमा पाँच वटा उन्नत जातका भैँसी छन् । दैनिक २० लिटर दूध बिक्री गरी मासिक रु ८० हजारसम्म कमाई हुने गरेको ओस्तीले बताईन् । दूध बिक्रीबाटै घरायसी खर्च, छोराछोरीको पढाइ खर्च चलाउन सजिलो परेको उनको अनुभव छ ।

त्यसैगरी सोही ठाउँकै अनिता भण्डारीले पनि दूध बिक्रीबाट राम्रो कमाई गर्छिन् । दैनिक १५ लिटर दूध बिक्री गरी मासिक ४० हजार आम्दानी गरेको उनले बताईन् । महिलाहरुले उत्पादन गरेको दूध बिक्री गर्न सहज होस् भनेर दुई लाख ५० हजारको लागतमा सो डेरी सञ्चालन गरेको सहकारीले जनाएको छ ।

सहकारीमा आबद्ध पाँच जना महिलाले व्यावसायिक रुपमा पशुपालन गरेका छन् । दूध बिक्रीको व्यवस्था सहकारीले गर्न थालेपछि अन्य महिलाले पनि पशुपालनलाई व्यावसायिक तवरले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । डेरीबाट दुई जना स्थानीयवासीलाई रोजगार मिलेको छ ।

दूध र पानीको मात्रा मापनका लागि सहकारीलाई ‘मिल्क एनालाइजर मेशिन’ प्राप्त भएको छ । हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको सहयोगमा रु पाँच लाख ३० हजार मूल्यको मेशिन सहयोग मिलेको सहकारीले जनाएको छ ।

विसं २०६९ मा स्थापना भएको यस सहकारीमा ३५० जना शेयर सदस्य रहेका छन् । सहकारीले महिलाहरुलाई आर्थिक क्षेत्रमा बलियो बनाउने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस