तिलोत्तमामा ‘स्मार्ट’ बाख्रापालन सुरु

बुटवल । व्यवसायिक र ‘स्मार्ट’ बाख्रापालन रुपन्देहीको तिलोत्तमामा सुरु हुने भएको छ ।

प्रदेश ५ सरकारले कृषि र पशुजन्य उत्पादन दोब्बर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही २ क को तिलोत्तमा नगरपालिका स्थित पश्चिम पहुनी गाउँ बाख्रापालनका लागि छनोट भएको हो ।

यहाँका ५३ घरधुरीबाट सबैको सामुहिक सहभागितामा पश्चिम पहुनी बाख्रापालन समूह गठन गरी यही आर्थिक वर्षभित्रै बाख्रापालन सुरु हुने छ ।

स्मार्ट कृषि गाउँ कार्यान्वयनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ प्रदान गर्नेछ भने गाउँका ५३ परिवारले ५० हजारका दरले शेयर लगानी गर्नेछन ।

बाख्रापालनका लागि खोर बनाउन, घाँस लगाउन स्थानीय सत्यजित आधारभूत विद्यालयको साढे २ बिघा जग्गा १५ वर्षका लागि समूहले लिजमा लिएको छ । समूहका अध्यक्ष देवीप्रसाद भुसालले यहाँ उन्नत जातका बाख्रा पालनसंगै नश्न सुधार केन्द्र पनि स्थापना गर्ने लक्ष्य रहेको बताए ।

सुरुमा पांचसय बाख्रा पालनबाट सुरु गरी अर्को वर्ष दुई हजार र ५ वर्षभित्र १५ हजार बाख्रा पुर्‍याइने भुसालले बताए । हाल यो गाउँका ५३ वटै परिवारले कम्तीमा ३९४ वटा बाख्रा पाल्दै आएका छन । यहाँ एउटा व्यवसायिक बाख्रा फार्म, २ वटा भैंसी फार्म र ३ वटा गाई फार्म छन ।

भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बाख्रा किसानको एटीएम भएकाले यसमा लगनशील भएर लागे आर्थिक जीवनस्तरमा सुधार हुने बताए ।

प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक-एक वटा गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने घोषणा गरी सरकारले २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस