डा. केसीलाई खुल्ला पत्रः यहि हो लोकतन्त्र ?

आदरणिय डाक्टर गोविन्द केसी ज्यु, सर्वप्रथम त नेपालको चिकित्सा क्षेत्रको सुधारका लागि हजुरले जिवन कै बाजी राख्दै आउनु भएकोमा यहाँलाई साधुवाद टक्राउन चाहन्छु । तपाईको अनशन मेरो ब्यक्तिगत रुपमा समर्थन र सम्मान छ । यद्यपी सर्वसधारणको गुनासो मैले यहाँलाई अवगत गराउन चाहेर यो खुल्ला पत्र लेख्ने जमर्को गरेको हुँ ।

डाक्टरसाव, स्वास्थ्य क्षेत्र जस्तो अतिसंवेदनशिल क्षेत्रमा त्यो पनि सरकारी तलव खाएका स्वास्थ्यकर्मीहरु यतिका दिन देखि आन्दोलनमा उत्रिदा आम सर्वसाधरणहरु स्वास्थ्य उपचार गर्न पाउने अधिकारबाट कतिञ्जेल बञ्चित भई रहने ? भन्न थालेका छन सर्वसाधरणहरु । तपाई एक जना ब्यक्तिको अनशनले तपाईको स्वास्थ्यको हजारौंलाई चिन्ता र ऐक्यबद्धता भई रहँदा आम सर्वसाधरणको स्वास्थ्यको चिन्ता गर्ने कसले ? भनेर सवाल पनि उठाईको छ ।

डाक्टर केसी ज्यु, स्वास्थ्य क्षेत्रमा हजुरले बुझ्नै नसकेका र हजुर अनशन बस्नै नसकेका विकृतिहरु अरु धेरै छन । सरकारी तलव खाएर अधिकांस समय निजी मेडिकलमा खर्चिने , सरकारले तोकेको स्थानमा नजाने, वर्षऔं अघि देखि ग्रामिण क्षेत्रका अस्पतालको दरवन्दी खाली राखेर बस्ने जस्ता तमाम विकृतिको एउटा उदाहरण दिन चाहन्छु यसै गुल्मीको एउटा साँघुरो थलोबाट ।

यहाँको जिल्ला अस्पतालको उदाहरण दिन्छु म । कति भयो यहाँ दरवन्दी भएका डाक्टर कहाँ छन भन्ने अत्तोपत्तो नभएको ? बुझ्नुहोस यहाँका अन्य स्वास्थ्यकर्मीहरु पनि ग्रामिण क्षेत्रको दरवन्दी खाएर सदरमुकाममा घर पायक पारेर मेडिकल खोलेर बसेको ।

उनिहरुलाई कानुन लाग्दैन ? यहाँको अस्पताल ५० शैया घोषणा भएको कति वर्ष भयो ? खै अहिले सम्म त्यस अनुसारको सुविधा दिएको ? अँस्ती मात्रै सदरमुकाम तम्घासमा एक दलित महिला सुत्केरी हुन नसकेर मृत्युवरण गरिन ।

गाउँ गाउँमा वर्थिङ्ग सेन्टर खोलिएको छ भनेर नेता र सरकारी कर्मचारीहरु नाक ठाडो पार्छन । गएर हेर्नुहोस ति वर्थिङ्ग सेन्टरहरुमा न आवश्यक उपकरण छ । यहाँ सम्मकी वत्ति समेत छैन । औषधीको कुरा त परै छाड्नु होस् ।

राज्यले छुट गरेर , विदेशमा रहेका नेपालीहरुले आफ्नो परिवारको गास काटेर भित्राईएका एम्वुलेन्सहरु यात्रुवाहक छन , बिरामी बोक्दैनन । सिमित मान्छेलाई ज्यान पाल्ने माध्यम बनेका छन । सदरमुकाम कै एम्वुलेन्सहरु सदरमुकाम भित्रै अस्पतालमा आवत-जावत गर्न मान्दैनन । रातको समयमा बोलायो भने सदरमुकाम मै भएका एम्वुलेन्स चालकहरुले पाल्पा छु भनेर ढाँटेका गुनासाहरु पनि आई रहेका छन ।

सदरमुकाम नभनि पाल्पा जाउँ भन्ने हो भने बढि पैसा आउने भएपछि निद्रा मै एम्वुलेन्स कुँदाएर आई हाल्छन । औषधीको मुल्य दोब्बर तेव्वर बृद्धि गरिएको छ । सरकारी कार्यालयले खरिद गरेको औषधीमा कमिशन चलेको छ । १० लाखको औषधी खरिद गर्दा ३ लाख कमिशन खाएको आरोप पनि राजनैतिक बृत्तमा चलाईएको छ ।

वर्षेनी सयौं मानिसहरु लाखौं खर्चेर विदेशमा डाक्टर पढ्न जान्छन । फर्केर आई मेडिकल वोर्डले परिक्षा लिदा ३० देखि ४० प्रतिशत मात्रै उतिर्ण हुन्छन । विदेशको त्यस्तो गुणस्तरहिन पढाईको बारेमा आवाज उठाउने र अनशन बसी दिने को ?

जहाँ सम्म डाक्टर केसीले ग्रामिण क्षेत्रमा खोलिनु पर्ने तर काठाण्डौं लगायत पोखरा , बुटवल , विराट नगर जस्ता ठुलो जनघनत्व भएका ठाउँमा मेडिकल कलेज खोल्न नदिने माग राख्नु भएको छ । त्यो माग झट्ट हेर्दा तपाई ग्रामिण भेगका जनता प्रेमी जस्तो पनि लाग्छ । तर रहश्य अरु कतिपयले अर्कै बुझ्न थालेका छन । काठमाण्डौं लगायत ठुला शहरका केहि स्थापित मेडिकल कलेजहरु आफुहरु कै मात्र रजाई भई रहोस, अरु नछिरुँन भन्ने चाहेका छन ।

उनिहरुकै अभिष्ट पुरा गराउनका लागि डाक्टर केसीको अनशन हो भन्ने आरोप पनि केहि राजनैतिक कर्मीहरुले लगाएका छन । जनसंंख्याको पनि मापन गरौं । सिंङ्गो कर्णालीका वासीन्दाको जनसंख्या भन्दा राजधानीको जनघनत्व आठौं गुना बढि छ ।

त्यति ठुलो जनघनत्वलाई चिकित्सकहरु उत्पादन गर्ने मेडिकल कलेजहरु थप्न पर्ने कि नपर्ने ? मोफशलका ठुलो शहर पोखरा बुटवल , नारायणघाट , विराटनगर, लगायतले थप मेडिकल कलेज खोलेर आफ्नै शहरमा स्वास्थ्यकर्मी उत्पादन गर्न खोजेका छन वा माग गरेका छन र गर्लान । अब उनिहरुको माग तपाई एक जना ब्यक्तिको मात्रै हड कै कारणले बञ्चित हुन दिने ?

तपाईको एकहोरो हड विरुद्ध बोल्ने, आन्दोलन गर्ने र अनशन बस्ने पनि त भोलीका दिन निस्कीएलान । सरकारले अब कुन चाँही अनशनकारीको कुरा सुन्ने , मान्ने ?

अहिले सम्मका जनआन्दोलन , जनयुद्धबाट अंग भंग भएकाहरु डिप्रेशनले कोही सडकमा चिच्चाउँदै हिडेका छन , कोही थला परेका छन त कोहीको मृत्यु भयो । त्यस्ताका पक्षमा कहिल्लै हजुर अनशन बस्नु भयो ? ।

उपचार गर्न नसकेर कैयौं नागरिकहरुको अकालमा मृत्यु भएको छ । कसैले आत्महत्या गरेका छन । जिवन रक्षाको माग गर्दै कोही सडकमा थाल थापेर बसेका छन । सञ्चार माध्यममा अपिल गरेर कसैले नवजिवन पाएका छन तर राज्यले कानमा तेल हालेर बसेका घटनाहरु पनि यसै निवदेक संग प्रशस्त उदाहरणहरु छन ।

भोकै मर्नु परेका , अन्यायमा परेर आत्महत्या गर्न बाध्य भएका नेपालीहरुका पक्षमा कसैले पनि अनशन नबस्ने , ठुला ठुला ब्यवसायीहरुको रक्षाका लागि भने अनशन बस्ने ? यस्तो सवाल पनि सर्वसाधरणले उठाएका छन ।

यस विषयमा अनशन बस्ने अरु कोही छन ? तपाईको अनशनले गरिव , विपन्न वर्गको हकहित गर्ला जस्तो लाग्दैन भन्छन केहि सरोकारवालाहरु । अहिले पनि नागरिकहरु सरकारले निशुल्क तोकेको औषधी समेत पाउन सकेका छैनन ।

मृगौला प्रत्यारोपण गर्ने एउटा औषधीको मुल्य ८ सयमा पाउनु पर्ने तर ११ हजार सम्म अशुलेको समाचार आई रहेको छ । डाक्टर र औषधीवालाको मिलोमोतो छ । डाक्टरले औषधी सिफारिस गर्दै फलानो पसलमा मात्रै पाईन्छ भनेर भन्छन भने मिलोमोतो छ भन्ने स्पष्ट हुन्छ । यस विरुद्ध अनशन बस्ने को ?

देशको शैक्षिक क्षेत्रमा पनि सिमित वर्गको मनपरी छ । राज्यको ढुकुटीबाट चल्ने सामुदायिक विद्यालयहरु कुनै एक वर्ग समुदाय र ब्यक्तिको निजी सम्पत्तीका रुपमा सञ्चालनमा छन । वर्षऔं सम्म उहि मात्रै व्यवस्थापन समितिको अध्यक्ष र उहि मात्रै प्रधानध्यापक भई रहनु पर्ने ? यस्तो घरानिया राणा शासन जस्तो एकै ब्यक्ति सधै एकैथलो र ओहदामा ? यस्तो अन्त्य हुनु पर्छ भन्दै आन्दोलन गर्ने र अनशन बस्ने को ?

कतिपय समुदायका जनताको छोरा छोरीले स्कुलको मुख देख्न सकेका छैनन । स्कुल भर्नाको बेला घर दैलो कार्यक्रमको नौटङकी गरियो । गजबको कुरा त के छ भने सदरमुकाम तम्घास कै ११ वर्षिय बालक अशोक नेपाली अहिले सम्म स्कुल भर्ना हुन सकेका छैनन ।

सरकार स्वास्थ्य कार्यालय भित्रै छुवाछुत विभेद भएको हालै सञ्चार माध्यममा आयो । गुल्मी कै अस्लेवा स्वास्थ्य चौकी भित्रको कुरा हो । त्यहाँ एउटी दलित समुदायकी अनमी तहकी स्वास्थ्यकमीलाई अर्की ब्राम्हण थरकी स्वास्थ्यकर्मीले उनले छोएको पानी र चिया पिउन बाट तर्किने गरेको गुनासो वडाध्यक्षकहाँ समेत पुग्यो । नेपालको संविधानले छुवाछुत मुक्त मुलुक घोषणा गरेको छ । तर व्यवहारमा सरकारी कार्यालय भित्रै छुवाछुत विभेद । त्यस विरुद्ध आन्दोलन गर्ने को ?

विकास निर्माणमा पनि मनपरी छ । असारे विकासको परिणाम गुल्मीको रिडी बजारमा डोजरवालाहरुका कारण तिन वटा घर परिवार विस्थाति हुनु परेको छ । त्यति मात्र होईन शौचालयमा शौचा वस्न गएका एक बालक पहिरोले जोखिममा परि त्यस शौचालय ढलेर यति बेला जिवनमरणको दोसाँधमा छन । विकास निर्माणमा अनियमित्ता भ्रष्टचार मौलाई रहेको छ । त्यस विरुद्ध आन्दोलनको ज्वाराभाट ल्याउने को ?

खुलेआम हरेक क्षेत्रमा तस्करी, लुटतन्त्र हावी छ । मनपरी विभिन्न ब्यवसायीक क्षेत्र चलेका छन । डाक्टरसाहव, त्यही मनपरी गर्न दिनु नै नेपाली जनताका स्वतन्त्रता र लोकतन्त्र हो ?

अन्तिममाः राष्ट्रको शान्ति सुरक्षा र जनताको स्वास्थ्यका लागि नेपाली सेना र स्वास्थ्य क्षेत्र उतिकै अतिसंवेदनशिल अंग हुन । अहिले स्वास्थ्य क्षेत्रका चिकित्सकहरुलाई आन्दोलित हुन तपाईको अनशनले जति मलजल गरेको छ ।

भोली कुनै विषयलाई लिएर नेपाली सेनाले विवेक गुमाए यो देश र हामी नेपालीको हालत के होला ? मानौ कि नेपाली सेना भित्र एउटा जवान फलानो अफिसरले घुस खाएको छ वा भ्रष्टचार गरेको छ कि वा अन्य विभिन्न विषय विरुद्ध बाहिर निस्कीएर अनशन बस्लान । क्रमशः अन्य जवानहरु पनि त्यसरी नै निस्कीएलान । त्यस बेला यो देशको अवस्था के होला ?

अतिसंवेदनशिल अनशनको परिणाम यस्तो नहोस र डाक्टर केसीबाट यो नसिकुन कि नेपाली सेना सहित सुरक्षा निकायका मानिसहरु अनशन नबसुन । सिके राउत जस्ता मधेसवादीहरु मधेस नेपालबाट टुक्राईनै पर्छ भनेर अनशन नबसुन । अनशन रामवाण औषधी नै हो भने कालापानी , टिष्टा फर्कायोस भनेर अनशन बसुन । भारतले सिमाना मिच्दै आएको छ , सिमा क्षेत्रमा बर्दिवालाहरु बाटै नेपाली हेप्पीनु परेको विरुद्ध अनशन बस्ने को ?

देशको शान्ति सुरक्षा र स्वास्थ्य लगायत संविधानमा उल्लेख नागरिकका मौलिक अधिकार माथी धावा बोल्ने कसैलाई छुट छैन । यसमा खलल पुराउने विरुद्ध जनता अदालत जान सक्छन र सडक तताउन पनि बाध्य हुने छन । यसमा बढो ख्याल गर्नु होला ।

कुनै व्यक्ति वा समुहले आफ्नो किर्तिमानी रच्न वा ‘मलाई त्यही केटी चाहिन्छ.. ’ को जिद्धि पुरा गर्नका लागि अरु लाखौं मानिसको अधिकार खोस्न पाईदैन भन्ने आवाज सर्वसाधरणबाट उठन थालेको छ ।

कृपया डाक्टर केसी ज्यु, अलिकती अरु सर्वसाधरणको पनि मौलिक अधिकारको ख्याल गरी दिनुहोस भन्ने विनम्र निवेदन हो यो । यसलाई अन्यथा नसोची एउटा बौद्धिक ब्यक्तित्वका धनी हजुरले विवेक पुराई दिनुहोस भन्ने पुनः पुनः निवेदन टक्राउन चाहन्छु र स्वास्थ्य लाभको पनि कामना गर्दछु । बाँकी हजुरको जो आज्ञा……….

निवेदक : प्रेम सुनार

                                                                                                        पत्रकार

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस